फुटसल लिगका लागि टर्नपाइकसँग एन्फाको सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन राष्ट्रिय फुटसल लिगका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ । एन्फाले लिगको विवरण सार्वजनिक गर्ने तथा प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाइकसँग सम्झौता गरेको हो ।

सम्झौता पत्रमा एन्फाको फुटसल कमिटिका सयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका सिईओ उकेश लोहनीले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार टर्नपाइकले एन्फालाई २९ लाख उपलब्ध गराउने छ ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले यसलाई ऐतिहासिक सम्झौताको रुपमा लिएको बताएका छन् । उनले भने, ‘सम्झौतालाई ऐतिहासिक रूपमा हेरेको छु । प्रतियोगिता आयोजना गर्न इरानले सहयोग गर्ने कुरा भएको छ । प्रतियोगितापछि खेलाडी छनोट गरेर बाहिर खेल्न पठाउने छौँ । हामी महिला फुटसलको राष्ट्रिय च्याम्पियनसिप गर्ने तयारीमा समेत छौं ।’

एन्फाको फुटसल संयोजक श्रेष्ठले प्रतियोगिताको अन्तिम तयारी भइरहेको बताए । एएफसीबाट मान्यता प्राप्त कभर्डहल भएकोले प्रतियोगिता पोखरामा गर्न लागिएको उनले बताए । फुटसलको ‘ए’ डिभिजन लिग बैशाख २५ देखि जेठ १५ सम्म पोखरामा संचालन हुनेछ ।

फुटसल लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने छन् । बागमती प्रदेशबाट ४ टिम तथा प्रदेश–१ र गण्डकी प्रदेशबाट २–२ टिम सहभागी हुने छन् । त्यस्तै प्रदेश–२बाट एक टिम र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट संयुक्त एक टिम हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.