राष्ट्रिय लिग : आर्मी उपाधि होडमा फर्कियो

1 Mar, 2026
Share:
117 Shares

जारी राष्ट्रिय लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले आफूलाई उपाधि होडमा कायमै राखेको छ। आइतबार दशरथ रंगशालामा भएको खेलमा पुछारमा रहेको सिमराको क्लब नव जनजागृतिलाई ३–०ले हराउँदै आर्मीलाई आफूलाई उपाधि होडमा कायमै राखेको हो।

लिगको आठौं चरण चलिरहँदा आर्मीका यो पाँचौं जित हो। ऊ ८ खेलमा १७ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ। उभन्दा अघि अर्को विभागीय टिम एपिएफ (२२) र लालिगुराँस युथ एसोसिएसन (१८) छन्।

यता, नव जनजागृति भने आठै खेलमा पराजित हुँदै अंकबिहीन छ।

कप्तान जर्ज प्रिन्स कार्कीले खेलको नवौं मिनेटमा गोल गर्दै आर्मीलाई अग्रता दिलाए। नवयुग श्रेष्ठले ५४औं मिनेटमा अग्रता दोब्बर पारे भने कुन्साङ लामाले ७६औं मिनेटमा आर्मीको तेस्रो गोल गरे।