सामग्रीमा जानुहोस्
बुधबार, असोज २८, २०८३

भुजुङले जित्यो त्रिवेणी कप

गण्डकी प्रदेशमा आहा–रारा गोल्डकपपछि सबैभन्दा ठूलो पुरस्कार राशिको त्रिवेणी कप फुटबल प्रतियोगिताको ३१ औं संस्करणमा लालीगुराँस युवा क्लब भुजुङ च्याम्पियन बनेको छ।

विजयीसँगै क्व्होलासोथार गाउँपालिका–४ भुजुङको लालीगुराँस युवा क्लबले ८ लाख रुपैयाँ र त्रिवेणी कप उचाल्यो।

बेंसीसहरस्थित सहजी खेल मैदानमा शनिबार सम्पन्न फाइनलमा बेंसीसहर युथ सोसाइटीलाई १–० ले पराजित गर्दै लालीगुराँस भुजुङ च्याम्पियन बन्यो।

लालीगुराँस युवा क्लबले २०६१ सालमा त्रिवेणी कप जितेको थियो। अहिले १९ वर्षपछि च्याम्पियन बनेको हो। उपविजेता बेंसीसहर युथ सोसाइटीले ४ लाख रुपैयाँ पुरस्कार पायो।

बेंसीसहर युथका विदेशी खेलाडी आन्द्रेस नियाले दोस्रो हाफको १५ औं मिनेटमा गरेको आत्मघाती गोलमा भुजुङको भाग्य चम्किएको हो। भुजुङका खेलाडीको प्रहार फर्काउने क्रममा नियाको टाउकोमा छोएर आफ्नै पोस्टमा पुगेपछि बेंसीसहर युथ स्तब्ध बन्यो।

कुल ४ गोल गरेका सुन्दरबजार फुटबल क्लवका एरोन थापाले सर्वाधिक गोलकर्ता भएर २० हजार जिते। बेंसीसहर युथ सोसाइटीका लक्षु थापा सर्वोत्कृष्ट खेलाडी भए।

विजेतालाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कृत गरे। बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले उपविजेतालाई पुरस्कृत गरे।

1.3Kशेयर