
एनएसएलले भन्यो– एन्फाले असहयोग गर्यो, निर्धारित मितिमा प्रतियोगिता गर्न सक्दैनौं
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) निर्धातिर समयमा नहुने भएको छ। एनएसलको आयोजक नेपाल स्पोट्र्स म्यानेजमेन्ट र सहभागी १० क्लबको संयुक्त बैठकले तोकिएको समयमा प्रतियोगिता आयोजना गर्न नसक्ने निष्कर्ष निकालेको हो।
प्रतियोगिता चैत २६ गतेबाट सुरु हुने तालिका थिये। एन्फाले बुधबारमात्र प्रतियोगिता २५ चैतदेखि १ जेठसम्म हुने गरी स्वीकृति दिएको थियो।
एनएसएलमा सहभागी १० क्लब र आयोजको बिहीबार बसेको संयुक्त बैठकले प्रतियोगिताको मिति ढिलो गरी स्वीकृत भएको भन्दै तोकिएको समयमा प्रतियोगिता खेल्न नसक्ने जनाएका छन्। उनीहरुले समस्या समाधानका लागि ए डिभिजनका क्लब तयार नहुनु र समस्या समाधानका एन्फाले गरेको ढिलाईका कारण निर्धारित समयमा प्रतियोगिता गर्न नसकिने निष्कर्ष निकलोका छन्।
क्लब र आयोजकले एन्फा एनएसएलप्रति पूर्वाग्रही भएको पनि आरोप लगाएका छन् । ‘प्रतियोगिता सञ्चालनका लागि १५ दिनअघिमात्र स्वीकृती दिनु र एनएसएल भन्दा पछि माग गरिएको मोफसलका गोल्डकपलाई एनएसएलसँग जुधार स्वीकृती दिनुले एन्फाका पदाधिकारी एनएसएलप्रति पुर्वाग्रही देखियो,’ बैठकले जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ।
एनएसएलले भदौ–असोजमा प्रतियोगिता आयोजनाका समय उपलब्ध गराउन पनि माग गरेको छ। ‘हाल कायम रहेको सम्झौता स्वतः नविकरण हुने गरी भदौ असोजमा प्रतियोगिता योजना गर्न दिन माग गर्छौं,’ क्लब र आयोजकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा एनएसएललाई वार्षिक क्यालेन्डरमा राखेर अन्य प्रतियोगितासँग नजुध्ने गरि पर्याप्त तयारीको समय दिएर प्रतियोगिता सञ्चालनको समय उपलब्ध गराउन माग गर्दछौं।’
‘आयोजक र १० वटै क्लबको प्रतियोगिता तयारीका लागि ठूलो धनराशी खर्च गरिसकेको र समय अभावका कारण खेलाडीको प्रशिक्षण तथा प्रतियोगिता व्यवस्थापनमा गम्भीर असर पुगेकाले निर्धारित समयमा प्रतिगोगितामा सहभागी हुन असमर्थ भएका छौं,’ विज्ञप्तिमा भनिएको छ।
यसअघि ए डिभिजन क्लबहरूले एनएसएल टिममा आफूसँग आबद्ध खेलाडी भएको विषयमा असन्तुष्टि जनाएका थिए। साथै एनएसएल टिमलाई क्लब सरहकै मान्यता दिएको विषयमा पनि उनीहरू संशकित थिए।
क्लबको असन्तुष्टि र एन्फाको पत्रविपरित एनएसएलले अक्सन आयोजना गरेको थियो। यो विषयमा एन्फाले एनएसएलसँग स्पष्टिकरण समेत सोधेको थियो। गत चैत ३ गतेको एन्फा कार्यसमिति बैठकले अध्यक्ष कर्माछिरिङ शेर्पाको संयोजकत्वमा एनएसएल विवादको समाधानका लागि कार्यदल गठन गरेको थियो।