सामग्रीमा जानुहोस्
आइतबार, कात्तिक २२, २०८३

नेमारका बुबा बने सान्तोषको सिईओ

ब्राजिलियन क्लब सान्तोस एफसीले शुक्रबार नेयमारका बुबा तथा एजेन्ट नेयमार सिनियरलाई क्लबको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ।

नेयमार सिनियरले आफ्नो छोरा नेयमारको फुटबल करियरमा सुरुदेखि नै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। उनले एनआर स्पोर्ट्स नामक एजेन्सी स्थापना गरेका छन्, जससँग सान्तोसका खेलाडी नेयमारको नाम र तस्बिर प्रयोगसम्बन्धी अधिकारसमेत रहेको छ।

ब्राजिलियन सञ्चारमाध्यमका अनुसार नेयमार सिनियरको सम्झौता आगामी डिसेम्बरसम्म रहनेछ। तर, अर्को महिना हुने निर्वाचनमा सान्तोसका वर्तमान अध्यक्ष मार्सेलो टेइसेइराले पुनः निर्वाचन जितेमा उनले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिनेछन्।

हाल सान्तोस ब्राजिलियन सिरी ए को अंकतालिकामा ३४ खेलबाट ४७ अंक जोड्दै नवौँ स्थानमा रहेको छ।

क्लबको व्यवस्थापनलाई थप मजबुत बनाउने उद्देश्यसहित नेयमार सिनियरलाई नयाँ जिम्मेवारी दिइएको अध्यक्ष टेइसेइराले बताएका छन्।

रोयटर्सका अनुसार उनले भनेका छन्, “सान्तोसको अवस्था सुधार गर्न र क्लबको व्यवस्थापनलाई बलियो बनाउन हामी दैनिक रूपमा विभिन्न समाधान र विकल्प खोजिरहेका छौँ। नयाँ सीईओका रूपमा नेयमार सिनियरको आगमन यस प्रक्रियामा अर्को महत्त्वपूर्ण कदम हो। उनको अनुभव र ज्ञानले हामीलाई अझ अगाडि बढ्न मद्दत गर्नेछ भन्नेमा म विश्वस्त छु।”

बार्सिलोना र पेरिस सेन्ट जर्मेनका पूर्व खेलाडी नेयमार सन् २०२५ मा आफ्नो बाल्यकालको क्लब सान्तोस फर्किएका थिए। उनले ब्राजिलका लागि १३० खेलमा ८० गोल गरेका छन् र उनी राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हुन्।

यस वर्ष उत्तर अमेरिकामा सम्पन्न विश्वकपमा उनी ब्राजिलको टोलीमा समेत समावेश थिए। तर, जुलाईको अन्त्यतिर उनले अब राष्ट्रिय टोलीबाट खेल्न नचाहेको बताएका थिए। त्यसअघि नर्वेसँग अन्तिम १६ मा पराजित भएपछि उनले आफ्नो अन्तर्राष्ट्रिय करियर समाप्त भएको संकेत गरेका थिए।

सेयर गर्नुहोस्

1.4KShares