अर्लिङ हालान्डले खेलको अन्तिम क्षणमा पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि नर्वेले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै डेनमार्कलाई ३–२ले पराजित गरेको छ।
जितसँगै नर्वे उपविजेताका रुपमा नेसन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ। डेनमार्कको यात्रा भने समूह चरणमै समाप्त भएको छ।
खेलको अन्तिम समयमा डेनमार्कका जोआखिम एन्डरसनले पेनाल्टी क्षेत्रभित्र हातले बल छोएपछि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले मुख्य रेफ्री हलिल उमुत मेलरलाई भिडियो हेर्न बोलाएका थिए।
भिडियो हेरेपछि रेफ्रीले नर्वेलाई पेनाल्टी दिने निर्णय गरे। म्यानचेस्टर सिटीका स्टार स्ट्राइकर हालान्डले कुनै गल्ती नगरी बललाई पोस्टको तल्लो कुनामा प्रहार गर्दै गोल गरे।
खेलमा डेनमार्कले उत्कृष्ट सुरुआत गरेको थियो। उसले तीन मिनेटभित्र दुई गोल गर्दै नर्वेमाथि दबाब बनाएको थियो। रासमुस होइलुन्डले खेलको पहिलो गोल गरे। उनले पछिल्ला ६ अन्तर्राष्ट्रिय खेलमा आफ्नो पाँचौं गोल गरेका थिए।
त्यसको तीन मिनेटपछि कप्तान पिएर एमिल होयबर्गले हेडरमार्फत अर्को गोल थपे। डेनमार्क २–० ले अघि बढेपछि समूहको दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनल पुग्ने अवस्थामा पुगेको थियो।
आर्सनलका कप्तान मार्टिन ओडेगार्डले गोलकिपरको गल्तीको फाइदा उठाउँदै बल हालान्डसम्म पुर्याए। हालान्डले नजिकबाट गोल गर्दै नर्वेलाई खेलमा फर्काए।
खेलको ८३औँ मिनेटतिर ओडेगार्डले अर्को गोल थप्दै नर्वेलाई २–२ को बराबरीमा ल्याए। आन्द्रेयास स्चेल्डेरुपको प्रहार पोस्टमा लागेर फर्किएपछि आएको रिबाउन्डमा ओडेगार्डले बललाई जाली चुमाए।
