सामग्रीमा जानुहोस्
बुधबार, मंसिर २, २०८३
नेपाल प्रिमियर लिग

पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्।

यो खेल बेलुकी ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ। लुम्बिनी लिग चरणमा शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेका हुन्।

सुदूरपश्चिमले लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको हो । सुदूरपश्चिम यसअघिका दुई वटै संस्करणमा उपविजेता बनेको थियो । लुम्बिनी गत संस्करणको विजेता हो।

आजको खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ। पराजित हुने टोलीले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउनेछ।

लुम्बिनीका लागि यो खेल सुदूरपश्चिमविरुद्ध लगातार तेस्रो जित निकाल्ने अवसर पनि हो। गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको लुम्बिनीले यस संस्करणको पहिलो खेलमा पनि ७ विकेटको जित निकालेको थियो।

ती दुवै खेलमा लुम्बिनीले सुदूरलाई १०० रनभित्रै अलआउट गरेको थियो। अब पहिलो क्वालिफायरमा पनि सुदूरपश्चिमलाई हराउन सके लुम्बिनीको सुदूरपश्चिमविरुद्ध जितको ह्याट्रिक पूरा हुनेछ।

इलिमिनेटरमा भोलि काठमाण्डौ गोर्खाज र चितवन राइनोज खेल्नेछन्। इलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ। फाइनल खेल मंसिर ५ गते हुनेछ।

सेयर गर्नुहोस्

1.3KShares